काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको भन्दै कामपाले कुहिने र नकुहिने फोहरलाई स्रोतमै वर्गीकरण गरी नकुहिनेलाई मात्रै लाने तयारी गरेको हो ।
काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार उत्पादन भएका सबै फोहर बञ्चरेडाँडासम्म पुर्याउँदा उक्त स्थानमा लिचड व्यवस्थापनदेखि अन्य विभिन्न समस्या सिर्जना भएको भन्दै पुनः स्रोतमा नै फोहोर छुट्याउने काम गर्न लागिएको हो ।
फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी घरघरमा नै कम्पोष्ट मल उत्पादन गरी फोहोर व्यवस्थापनको कार्यमा सहयोग गर्नेलाई काठमाडौं महानगरपालिकाले प्रोत्साहनस्वरुप (कम्पोष्ट मल उत्पादन गर्ने भाँडो) कम्पोष्ट बिन सहुलियत दरमा वितरण गर्नेसमेत प्रमुख श्रेष्ठले जानकारी दिए।
फोहोर वर्गीकरण कार्यलाई काठमाडौं महागरपालिकाले गत वर्ष पनि साउन एकदेखि सुरु गरेको थियो तर यसको कार्यान्वयन लामो समय टिकेन । काठमाडौं महानगरापलिकाको ३२ वटै वडामा सुरु गरेको उक्त कार्य सुरुमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।
कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्ने भन्दै कामपाले गत फागुनमा टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोहोरलाई मल बनाउने काम पनि सुरु गरेको थियो ।
काठमाडौं महागरपालिकाका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्छन् ।
उपत्यकाको १८ पालिकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका काम भइरहेको छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था छ ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।



