images
images

छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल


  • 451
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल

    काठमाडौं । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो ।

    नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्रै सहभागी थिए ।

    मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए ।

    साढे दुई किलोमिटर लम्बाइ र साढे चार मिटर चौडाइको सुरुङमा सातवटा क्रस प्यासेज राखिएको छ ।  सुरुङभित्र कुनै दुर्घटना हुँदा वा अन्य कारणले मुख्य सुरुङ अवरुद्ध हुँदा प्रयोगमा ल्याउन मुख्य सुरुङसँगै निर्माण गरिएको आकस्मिक सुरुङ छिर्न मुख्य सुरुङमा सातवटा गेट राखिएको छ ।

    आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ । सोमबारसम्म दुई हजार एक सय ८६ मिटर खन्ने काम सकिएको छ । मुख्य सुरुङ खन्न अब पाँच सय दुई मिटर बाँकी छ । आगामी मङ्सिरसम्ममा मुख्य सुरुङ पनि वारपार छिचोल्ने गरी काम भइरहेको कन्सल्टेन्सी इन्जिनियर कोइरालाले जानकारी दिए।

    सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्नेमा समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो ।


    images
    images

    Logo