काठमाडौं । एयरपोर्टबाट एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको घटनाबारे अनुसन्धानको जिम्मा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पाएका छन् । राजस्व अनुसन्धान विभागले उक्त प्रकरणको अनुसन्धान फाइल प्रहरीलाई बुझाएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणको छानबिन सुरु गरेको हो ।
यही साउन २ गते भन्सारबाट पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजाँदै गरिएको एक ट्याक्सीमा सुन छ भन्ने सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले टोली बनाएर अपरेशन चलाएको थियो । प्रहरीलाई खबर नगरी टोलीले गरेको उक्त अपरेशनमा गन्तब्यतर्फ जाँदै गरेको बा २ ज २३२४ नम्बर गरेको ट्याक्सीमा १ क्विन्टल सुन बरामद भएको थियो ।
विभागले उक्त प्रकरणमा चिनियाँ नागरिक जिक्वाङ लिङ, दावा छिरिङ, भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै, भन्सार एजेन्टहरू सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बालाई पनि विभागले नियन्त्रणमा लिएको थियो । त्यसअघि विभागका टोलीले भारतीय नागरिक थिप्तेन छिरिङ, दोलखाका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, चितवनका अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र राजेन्द्र राईलाई पक्राउ गरेको थियो ।
पहिले विभाग आफैंले अनुसन्धान गरेको भएतापनि अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाएको हो । र सीआईबीले अनुसन्धानको जिम्मा सञ्जयसिंह थापालाई दिएको हो ।



