images
images

अर्थ समिति कांग्रेसले पाउँदा को बन्ला सभापति ? यी हुन् प्रमुख ३ दाबेदार 


  • 348
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    अर्थ समिति कांग्रेसले पाउँदा को बन्ला सभापति ? यी हुन् प्रमुख ३ दाबेदार 

    काठमाडौं । लामो समयदेखि रस्साकस्सीमा चलिरहेको संसदीय समितिका सभापति चयनमा दलहरुबीचको भागबण्डा टुंगिएको छ । सोमबार सभामुख देवराज घिमिरेको पहलमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २ तथा एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले १/१ जना सभापति पाउनेगरी भागबण्डा मिलाइएको हो । हाल प्रतिनिधिसभा अन्तर्गत १२ समिति छन् । 

    प्रमुख संसदीय समितिमध्ये एउटा मानिने अर्थ समिति यसपटक काँग्रेसले पाउने भएको छ । अघिल्लो प्रतिनिधिसभामा यो समिति एमालेले पाएको थियो । समितिमा कृष्णप्रसाद दाहाल सभापति थिए ।

    यसपटक काँग्रेसको भागमा सभापति परेसँगै समितिमा प्रतिनिधित्व गर्ने काँग्रेस सांसदबीचको दौडधुप सुरु भएको छ । समितिमा काँग्रेसबाट ८ जना सांसद प्रतिनिधित्व गर्छन् । त्यसमध्ये ज्ञानेन्द्रबहादुर कार्की सभापति बन्ने सम्भावना छैन । राज्यमन्त्रीको हैसियत रहने सभापतिमा अर्थमन्त्रीसहित पटक पटक मन्त्री भएका उनको दौडधुप रहँदैन । बाँकी ७ जना सभापति बन्न आकांक्षी छन् ।

    कसको कस्तो सम्भावना ?
    १. विनोद चौधरी – विनोद चौधरी नवलपरासी पूर्वबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उद्योगपति रहेका उनी सभापति देउवाका विश्वासपात्र मानिन्छन् । यसअघि उनी अर्थमन्त्री बन्ने लबिङमा थिए । उनी सभापति बन्ने बलियो सम्भावना छ । उनले यसअघि ज्येष्ठ सदस्यको रुपमा समितिको सभापतित्व सम्हालिसकेका छन् । 

    २. दीपक खड्का – दीपक खड्का २०७० र २०७९ गरि २ पटक संखुवासभाबाट निर्वाचित सांसद हुन् । उनी संस्थापन पक्षनिकट मानिन्छन् । उनी पूर्व खानेपानी राज्यमन्त्रीसमेत रहीसकेका छन् । उनी शशांक कोइरालानिकट मानिन्छन् । समितिको सभापतिमा उनको सम्भावना समेत बलियो मानिन्छ । 

    ३. रामनाथ अधिकारी – रामनाथ अधिकारी धादिङ २ बाट निर्वाचित सांसद हुन् । उनी ४ पटकसम्म कांग्रेसको जिल्ला सभापति भइसकेका छन् । २०५६ सालमै सांसद बनेका उनी त्यतिबेलै राज्यव्यवस्था समितिका सभापति थिए । उनी संस्थापनइतर मानिए पनि शेखर कोइराला, शशांक कोइरालासँग निकट छन् । संस्थापनइतरको भागबाट उनी बन्ने सम्भावना छ । 

    ४. पूर्णबहादुर तामाङ – रामेछापबाट प्रत्यक्ष निर्वाचित तामाङ निर्माण व्यवसायी हुन् । उनी पनि संस्थापन पक्षनिकट मानिन्छन् । सभापति पदका लागि उनको पनि सम्भावना छ । 

    ५. सन्तोष चालिसे – सन्तोष चालिसे काठमाडौं–३ बाट निर्वाचित सांसद हुन् । गोकर्णेश्वर नगरपालिकाका मेयर भएर राम्रो काम गरेको भनेर चर्चा हुने गर्छ ।  उनी प्रतिनिधिसभा सदस्यका लागि अन्तिम समयमा टिकट पाएर निर्वाचित भएका सांसद हुन् । यद्यपि, उनी सभापति बन्ने सम्भावना कम रहेको बताइन्छ ।  

    ६. मुक्ताकुमारी यादव – मुक्ताकुमारी यादव समानुपातिक सांसद हुन् । उनी यसअघि उपसभामुखको उम्मेदवार समेत रहेकी थिइन् । अहिले उनी समितिमा सभापति बन्ने सम्भावना कम नै छ । 

    ७. अन्जनी श्रेष्ठ – अन्जनी श्रेष्ठ आदिवासी जनजातीको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । उनी पार्टीमा संस्थापन पक्ष इतर मानिन्छिन् । अर्थ समितिमा सदस्य भएपछि सभापति बन्न सकिने भएपनि उनको यो सम्भावना प्राविधिक मात्रै रहेको जानकारहरु बताउँछन् । 


    images
    images

    Logo