काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ । परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन भएको छ । यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि साउन २१ र २२ गते २ दिन समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।
अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न अवसर प्रदान गरिनेछ । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरुको चापका आधारमा भर्ना पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १ सय ६६ वटा उच्च माध्यमिक विद्यालय छन् ।
शिक्षा अधिकारी सीताराम कोइराला भने, ‘हामीले प्रविधिको प्रयोग गरेर तत्काल प्रक्रिया सकिने र भएका निर्णय तत्काल विद्यार्थी तथा अभिभावकको सूचना पहुँचमा पुग्ने गरी काम गरिरहेका छौँ । प्रारम्भिक नतिजा आएपछि धेरै विद्यार्थीहरुले मैले कुन विद्यालयमा भर्ना पाउँछु भनेर सोधिरहनु भएको छ । उनीहरुले पुनर्योगको समय सकिएपछि प्रणालीबाट आवश्यक थप जानकारी पाउनु हुनेछ ।’
पुनर्योगका लागि विद्यार्थीहरुले एनआइसी बैङ्कको राजस्व खाता नं. ००१२०५००६१४७५०३८ मा १ हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचारसहित निवेदन दिनुपर्छ ।
प्रवेश परीक्षामा ५ हजार १ सय ६२ जना विद्यार्थी सहभागी भएका थिए। उनीहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५ सय १९ जना छात्रा गरी ४ हजार ५ सय ५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित भएको छ ।
समूहगत नतिजाअन्तर्गत विज्ञान विषयका लागि १ हजार १ सय ४ जना छात्रा र २ हजार ३ सय ८८ गरी ३ हजार ४ सय ९२ जना विद्यार्थीहरु योग्यता क्रम परेका छन् । विद्यार्थीहरुको धेरै चाप भएको विषय पनि यही हो । दोस्रो धेरै चाप भएको विषय व्यवस्थापनमा ३ सय १५ जना छात्रा र ५ सय ५२ जना छात्र गरी ८ सय ६७ जना परेका छन् ।
प्राविधिक विषयतर्फ ७३ जना छात्रा र ५७ जना छात्र गरी १ सय ३० जना, कानुनमा २३ जना छात्रा र २९ जना छात्र गरी ५२ जना, मानविकीमा १ जना छात्रा र ३ जना छात्र गरी ४ जना, शिक्षामा ३ जना छात्रा र २ जना छात्र गरी ५ जनाको नाम छ ।
छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ ।
दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।



