images
images

सुन प्रकरण : १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो


  • 326
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    सुन प्रकरण : १७ आरोपीलाई विभागबाट सिआइबीको हिरासतमा ल्याइयो

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा ल्याइएको छ ।

    राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीहरूलाई पनि सिआइबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। “आइतबार साझँ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमबार अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ”, उनले भने।

    यसअघि विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए। उनको निर्देशन लगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सिआइबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सिआइबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।

    विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

    अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिइएको बताए।

     


    images
    images

    Logo