काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ४० करोड रुपैयाँ बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो ।
कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार ४० करोड ६७ लाख ४२ हजार ७ सय ३५ रुपैयाँ बक्यौता रहेको छ । तीमध्ये कालो सूचीमा रहेका ग्राहकबाट ७३ लाख ३ हजार ४८ रुपैयाँ असुल गर्न बाँकी छ । केन्द्रले कालो सूचीमा २ सय ६७ ग्राहकलाई राखेको छ ।
बक्यौता रकममध्ये सबैभन्दा धेरै सडक बत्तीको ११ करोड १५ लाख ९१ हजार ३ सय १४ रुपैयाँ रहेको पौडेलले जानकारी दिए । उनका अनुसार घरायसी बिजुलीको ७ करोड ८३ लाख ७३ हजार ६ सय ७९ रुपैयाँ, संस्थागत ९० लाख १२ हजार ५९ रुपैयाँ, व्यवसायी १ करोड ८३ लाख ३६ हजार १ सय ५१ रुपैयाँ, सामाजिक संस्थाहरूको २ करोड १२ लाख ९२ हजार ५ सय ८८ रुपैयाँ बक्यौता रहेको छ ।
मनोरञ्जन क्षेत्रकाले २ लाख २८ हजार १ सय ६२ रुपैयाँ, औद्योगिक क्षेत्रको २ करोड ६४ लाख २९ हजार ७ सय २२ रुपैयाँ, सरकारी कार्यालयको १३ करोड ८३ लाख ३० हजार ४ सय ६२ रुपैयाँ, खानेपानीको २ लाख ६६ हजार ६ सय १८ रुपैयाँ, अस्थायी, धार्मिक सङ्घ संस्था र सामाजिक सङ्घ संस्थालगायतले तिर्न बाँकी रहेको उनले बताए ।
गत आर्थिक बर्षमा १९ करोड ७४ लाख ७७ हजार ३ सय ७० युनिट विद्युत् खपत भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस कार्यालयअन्तर्गत ६५ हजार ५ सय ८ सेवाग्राही रहेका छन् । गत आर्थिक बर्षमा २ अर्ब ५ करोड ४७ लाख ६० हजार ५ सय ५६ रुपैयाँ विद्युत् महसुल सङ्कलन भएको छ । ग्राहकले समयमा महसुल तिर्दा ९ लाख २६ हजार ७ सय ५१ रुपैयाँ छुट पाएको उहाँले जानकारी दिनुभयो ।
–––



