काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा १ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९÷०८० मा १ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेका हुन् ।
१ लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ४३ लाख रुपैयाँ, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार ६ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट २ करोड ५३ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
एक वर्षको अवधिमा २६ हजार ३ सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार ४ सय ६१ ट्र्याक्टर, ५ हजार ३ सय ३७ बस र ८ हजार ७ सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार ५ सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट १ करोड रुपैयाँ, १ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार १ सय ७ सवारीसाधन कारबाहीमा पर्दा ५ करोड रुपैयाँ, ४१ लाख, ९४ हजार राजस्व सङ्कलन भएको थियो ।
यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा ३ हजार ६ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट रु ३६ लाख ४७ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८÷७९ मा १ हजार ६ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा २ सय ५२ सवारी दुर्घटना भएका छन् । २ सय ५२ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए ।
ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरका लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भने । “प्रहरीले सचेतना अभियान चलाइरहेको छ ।
नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ”, उन भने, “तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।”



