काठमाडौं । मणिग्रामपछि भारतको अर्को ठाउँमा पनि धार्मिक दङ्गा भएको छ । मंगलबार राति हरियाणाको गुरुग्रामका पाँच क्षेत्रमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको हो ।
उक्त साम्प्रदायिक हिंसामा मृत्यु हुनेको संख्या ६ पुगेको प्रहरीले जनाएको छ । त्यसमध्ये एक जना बजरंग दल कार्यकर्ता पनि रहेको विश्व हिन्दू परिषदले जनाएको छ ।
मंगलबार राति साढे ९ बजेतिर सेक्टर ७० ए मा रहेको एउटा गोदाम र छेउछाउको पञ्चर पसलमा आगलागी भएको थियो । दुईवटा दमकल खटाएर आधा घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ भने बिहान करिब १ बजे टेकली गाउँ नजिकैका तीनवटा गोदाममा आगजनी भएको प्रहरीले जनाएको छ ।
बादशाहपुर क्षेत्रमा दुई मासु पसलमा तोडफोड भएको छ भने पालम विहारको एउटा गोदाममा पनि आगजनी गरिएको छ । नखडोला गाउँ नजिकैको बस्तीमा पनि युवाहरूको समूहले आक्रमण गरेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।
भोण्डसी क्षेत्रमा रहेको मारुती कुञ्ज नजिकैको पञ्चर पसलमा केहीले आगजनी गर्ने प्रयास गरे पनि प्रहरी टोलीलाई देखेपछि भागेको उनले बताए ।
यसैबीच, विश्व हिन्दू परिषद्का जिल्ला उपाध्यक्ष सुरेन्द्र तन्वरले सोमबार नुहमा भएको हिंसाका क्रममा बजरंग दलका कार्यकर्ता प्रदीप शर्मामाथि दंगाधारीले आक्रमण गरी गम्भीर घाइते भएको बताए ।
‘उनलाई सुरुमा गुरुग्रामको अस्पतालमा भर्ना गरिएको थियो र पछि दिल्लीको सफदरजंग अस्पतालमा लगिएको थियो जहाँ उनको मृत्यु भयो’, भीएचपी जिल्ला उपाध्यक्षले भने ।
कसरी सुरु भयो हिंसा ?
प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीको रिपोर्ट अनुसार हिन्दू राष्ट्रवादी समूहले निकालेको धार्मिक जुलुसमा हरियाणाको नुह जिल्लामा हिन्दू र मुस्लिमहरू आपसमा झडप हुँदा सोमबार दिउँसो हिंसा सुरु भयो । जसमा दुई प्रहरी अधिकारी र दुई अन्य व्यक्ति मारिए ।
हिंसामा २० भन्दा बढी प्रहरी अधिकारीहरू घाइते भएका छन् र दर्जनौं कारमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
तनाव पछि नयाँ दिल्लीबाट लगभग ३० किलोमिटर (१९ माईल) गुरुग्राममा फैलियो, जहाँ भीडले मस्जिदमा आगजनी गर्यो र सोमबार राति एक मुस्लिम धर्मगुरुलाई मार्यो । त्यसमध्येका केही आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



