images
images

आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा


  • 236
    SHARES
  • २०८० श्रावण १७ गते बुधबार

    आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा

    काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् ।

    गएको आर्थिक वर्ष २०७९÷८० मा कुल ५६ हजार ३ सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामध्ये ३३ हजार ६३ वटा घटनाको फस्र्यौट भएको छ भने २३ हजार बढी मुद्दा फस्र्यौट हुन बाँकी छ । त्यसको अघिल्लो आर्थिक बर्ष २०७८÷/७९ मा भने ४६ हजार ९ सय २ वटा घटना दर्ता भएका थिए ।

    प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले घटना उजुरी दर्ताका हिसाबले अघिल्लो आर्थिक बर्षभन्दा गएको आर्थिक बर्षमा बढेको बताए । उनका अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजार बढी घटना दर्ता भएको छ । त्यसपछि मधेस प्रदशेमा ९ हजार बढी र कोशी प्रदेशमा ८ हजार बढी घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्राप्त विवरणअनुसार सीआइबीमा ४३, काठमाडौं उपत्यकामा १६ हजार ६ सय २७, कोशी प्रदेशमा ८ हजार ७ सय २०, मधेस प्रदेशमा ९ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ हजार ६ सय ७९, गण्डकी प्रदेशमा ४ हजार १ सय ७७, लुम्बिनी प्रदेशमा ६ हजार ९ सय ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय २९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३ उजुरी दर्ता भएको छ ।

    प्रवक्ता कडायतले भने, “अन्य घटना खास त्यसरी बढेका छैनन्, जघन्य अपराध पनि बढेको छैन, त्यही बैंकिङ कसुर, साइबरजन्य अपराध भने बढेको छ ।” पैसा नभएको बैंकका चेक दिएको उजुरी परेको सङ्ख्या ह्वात्तै बढेको उनले बताए ।

    प्रहरीको विवरणअनुसार बैंकिङ कसुरका मात्रै १२ हजार १ सय ३५ घटना दर्ता भएको छ । यस्तै ज्यानसम्बन्धीका कसुर नै ८ हजार बढीको भएको छ । झन्डै सात हजार आत्महत्याका घटना भएका छन् । चोरीसम्बन्धी घटना नै ३ हजार ६ सयभन्दा बढी भएको छ भने ६ हजार बढी सङ्गठित तथा आर्थिक अपराधका छन् ।

    त्यसैगरी ११ हजार बढी सामाजिक अपराधका घटना भएको छ । महिला तथा बालबालिकासम्बन्धी ४ हजार बढी अपराध भएको तथा सवारीसम्बन्धी २ हजार घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ । 


    images
    images

    Logo