काठमाडौं । सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल ४ प्रतिशतले ह्रास आएको छ । गत आर्थिक बर्षमा १ खर्ब ५७ अर्ब रुपैयाँको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल १ प्रतिशतले ह्रास आएको जानकारी दिए। गत आर्थिक बर्षमा १६ खर्ब ११ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
गत आर्थिक बर्षमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आर्थिक बर्षमा कूल १७ खर्ब ८६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.६ प्रतिशतले कमी हो ।
“गत आर्थिक बर्षको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा ८.९प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ”, उनले भने, “समीक्षा अवधिमा नेपालको कूल निकासी २१.४ प्रतिशतले ह्रास आएको छ ।”आर्थिक बर्ष २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आर्थिक बर्षमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए ।
उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए । उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए ।



