images
images

डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी


  • 324
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

    काठमाडौं । डेङ्गी भाइरसको सङ्क्रमण ५ हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र ५ हजार ६ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा ३ हजार ४ सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । 

    उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । यही साउन १० गते ४ हजार ६ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको ५ दिनमा त्यो सङ्ख्या बढेर ५ हजार ६ सय ८८ मा पुगेको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । 

    यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा ३ हजार ८ सय २१, बागमती प्रदेशमा ९ सय ६२, गण्डकी प्रदेशमा ३ सय ५७, सुदूरपश्चिम प्रदेशमा ३ सय २५, लुम्बिनी प्रदेशमा १ सय ७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ ।

    १० जिल्लामा बढी सङ्क्रमण 

    नयाँ देखिएका बिरामीमध्ये ४ हजार ९ सय ३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।  सबैभन्दा बढी सुनसरी जिल्लामा ३ हजार ४ सय ८६, धादिङ छ सय ५५, कास्की २ सय ८, दार्चुला १ सय ९१, काठमाडौँ ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेङ्गीका बिरामी भेटिएका छन् । 

    नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

    यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । पुसयता डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म डेङ्गी सङ्क्रमण ७० जिल्लामा पुगेको छ । 


    images
    images

    Logo