काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले देशमा मलको नभएको बताएका छन् । शुक्रबार अर्थ समितिको वैठकमा सम्बोधन गर्दै डा. भुसालले स्थानीय तहले मल वितरण राम्रोसँग नगरेकाले कृषकहरुले मल नपाएकाबारे बताएका हुन् ।
मल अन्य देशबाट आयात गर्नुपर्ने भएकाले मन्त्रालय जिम्मेवार भएको तर कृषकको आवश्यकता अनुसार वितरण गर्ने जिम्मा स्थानीय तहको भएको तर स्थानीय तहले सही रुपमा वितरण नगरेको कारण मल अभाव भएजस्तो देखिन गएको उनको भनाइ छ । ‘स्थानीय तहमा मेयरको नजिककाले अर्को वर्ष सम्मलाई पुग्ने गरि जम्मा गरेको तर कोहीले भने अहिलेकालागि पनि मल नपाएको गुनासो आइरहेको छ’, उनले भने । पर्याप्त मल आयात भएको तर स्थानीय तहले मल सबैमा नबाँडेर आफ्ना नजिकका मानिसलाई चाहिने भन्दा धेरै मल बाँडेर बदमासी गरेका कारण अभाव भएको उनले बताए ।
उनको अनुसार हाल कोलकाताबाट भित्रिएको सहित नेपालमा ७८ हजार २८४ मेट्रिक टन मल स्टक बाँकी छ । गतवर्षजस्तो अभाव अहिले नभएको तर स्थानीय तहले वितरणमा समानता नगरेका कारण अभाव भएको उनले बताए ।
अन्य मानिसहरुले कालोबजारी गरेर ल्याइएको, उच्च मूल्य तिरीएको मलको गुणस्तर नराम्रो भएको भन्ने गुनासो आइरहँदा सरकारले आयात गरेको मल भने गुणस्तरीय भएको दावी गरे ।
वैठकलाई सम्बोधन गर्दै उनले यस वर्ष आउने भनेको मल आइसकेको र आगामी वर्षको लागि पनि टेन्डर भइसकेको बताए । आगामी वर्ष मलका लागि ३० अर्ब बजेटको सुनिश्चित भएको उनले बताए । मलका आइपुग्नका लागि सम्झौता भएको २२७ दिन लाग्ने भएका कारण मल ल्याउनका लागि अहिले नै प्रक्रिया सुरु गरिएको मन्त्री भुसालले बताए । तथ्यांकका आधारमा नेपाललाई एक वर्षमा ५÷६ लाख मेट्रिक टन रासायनिक मल चाहिने र साउनभरीमा सबै मल आइसक्ने उनले बताए । विशाखापटनममा भएको मल ल्याउन पुनः स्वीकृति लिनु नपर्ने भएका कारण मल पहिलेको वर्षभन्दा चाँडो आएको उनले बताए ।
सम्झौता भएको लामो समयसम्म मल आउन नसक्नुको मुख्य कारण यातायात रहेको उनको भनाइ छ । एउटा रेलमा एउटा कन्टेनर मात्र मल ल्याउन पाउने भारतको व्यवस्था भएका कारण ढिला हुनेगरेको उनले बताए । एउटैमा दुईवटा खण्डमा ल्याउन पाउने व्यवस्था बनाइए मल अहिलेको भन्दा आधा समयमा नै आउने र आफूहरुले त्यसका लागि भारतका रेल मन्त्रीसँग कुरा समेत गरिसकेको उनले बताए ।
सरकारले पर्याप्त मल वितरण गर्न नसकेको र सिमा नजिकका मानिसहरुले १/१.५ बोरा मल ल्याउन समेत रोकिएको भन्ने जुली कुमारी महतोको प्रश्नमा डा. भुसालले १/२ बोरा मल सीमानामा नरोकिएको तर धेरै मात्रामा ट्रयाक्टरमा नै ल्याइएको मल भने रोकिएको बताए ।
सांसद रामनाथ अधिकारीले राखेकोे एउटै बोरा मल ७ जनाले बाँडेर लिनुपर्ने अवस्था भएकोबारे बताएका थिए । त्यसको जवाफ दिँदै डा. भुसालले त्यस्तो स्थिति नभएको र भएको भेटिए स्थानसमेत बताउन भनेका थिए ।
वर्षा नभएका कारण मधेश प्रदेशमा रोपाइँ हुन नसकेको गुनासोलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूहरुले तत्कालै बोरिङ गर्न सक्ने नसक्नेबारे अध्ययन गरिरहेको बताए ।
वैठकमा मलको कारखाना नेपालमा नै वा नेपालले नै खोले हरेक वर्ष मलको अभाव भोग्न नपर्ने, मलका लागि अन्य देशसँग निर्भर रहनुनपर्ने धारणा आएको थियो । त्यसलाई सम्बोधन गर्दै डा. भुसालले आफू त्यो कारखानाको ग्राहक मात्र रहने तर बनाउने जिम्मा आफ्नो मन्त्रालयको नभएको बताए ।
प्रायः देशहरु रासायनिक मललाई विस्थापन गरि प्राङ्गारिक मलको प्रयोग गर्ने अभियानमा लाग्दा आफूहरु भने यूरिया मलको कारखाना खोल्ने कि नखोल्ने भन्ने विषयमा विवाद गरेर अरुभन्दा उल्टो बाटो लागिरहेको उनले बताए । प्राङ्गारिक मलको प्रयोगले दीर्घकालीन रुपमा असर नपर्ने भएका कारण त्यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।
उनले हामी मलका लागि भारतसँग मात्र नभइ अन्य देशसँग पनि निर्भर रहेको बताए । तर भारतले नै युरिया मल विस्थापित गर्ने लक्ष्य लिँदा हामी पनि ‘नेचुरल फार्मिङ’लाई नै बढी प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसका लागि नानो यूरिया विकल्प हुनसक्ने उनको भनाइ छ ।



