काठमाडौं । मधेश प्रदेश सरकारबाट एक मन्त्री र एक राज्यमन्त्रीले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।
कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन् ।
नेता साहका अनुसार उनहरुको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विष्तयमा छलफल भइरहेको छ । “कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ”, साहले भने ।



