काठमाडौं । निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदले उच्च अदातल पाटनमा रिट दर्ता गरेका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरुलाई १५ हजार जरिवाना गर्ने निर्णयविरुद्ध रास्वपाका ४ जना सांसदले अदालतमा रिट दर्ता गरेका हुन् ।
रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले आफूहरुले कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएका हुन् ।
निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले रिटमा उल्लेख गरेका छन् । उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।
गत मसिंर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २ हजार ४ सय भन्द बढी उम्मेदवारहरुलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।



