images
images

‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित


  • 331
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    ‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित

    काठमाडौं । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट १ लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण ४ हजार ६ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ८ महिनामा १३ जिल्लाका १ लाख ५३ हजार ९ सय ५ पशु सङ्क्रमित भएका छन् ।

    निर्देशनालयका अधिकृत डा सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा १ लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् । 

    सिन्धुलीमा ६ सय ५०, धादिङमा ५ सय १३, मकवानपुरमा ४ सय ४६, नुवाकोटमा ४ सय ११, सिन्धुपाल्चोकमा ३ सय ६०, काठमाडौँमा ३ सय ५७, भक्तपुरमा २ सय ९३, चितवनमा २ सय ४२, रामेछापमा २ सय २९, दोलखामा १ सय ७४ र रसुवामा १ सय ७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिए ।

    सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ३० हजार ७ सय १४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा छ हजार चार सय १३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

    सङ्क्रमित हुनेमा गाई १ लाख ४२ हजार ७ सय २८, गोरु ७ हजार ४ सय ९५, भैँसी १ हजार ८ सय ६९ र बाच्छाबाच्छी १ हजार ८ सय १३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिए । उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् । 

    प्रदेशमा पहिलो पटक २०७९ साल पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नं २, ३, ४ र ६ मा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो ।
     
    प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि सङ्क्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए । रोग नियन्त्रणका लागि प्रदेशभरीका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइसकिएको उहाँले जानकारी दिनुभयो । उनको अनुसार १ लाख १५ हजार ६ सय ९७ गाई र ५ हजार १ सय ८ भैँसीलाई भ्याक्सिन लगाइएको छ ।

    लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ । 


    images
    images

    Logo