काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी विरुद्ध अख्तियारमा उजुरी परेको छ । गैरकानुनी र अख्तियार विपरीतको कार्य गर्दै आएका भन्दै तत्काल निलम्वन गरी छानबिन तथा अनुसन्धान अगाडि बढाइयोस् भन्दै केदारमणि पौड्यालले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
२०८० साउन ८ गते सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक तह बीएको इतिहास विषयको ऐच्छिकतर्फ इतिहास ४१०, ऐच्छिक २, ‘पर्यटन विकासको परिचय’ विषयमा पाठ्यक्रमभन्दा बाहिरको प्रश्न सोधिएको भन्दै पौड्यालले अख्तियारमा उजुरी हालेका हुन् ।
न्यूनतम योग्यता नपुगेका शिक्षकहरुलाई विषय विज्ञमा नियुक्ति गरी परीक्षा सञ्चालनका लागि पर्यवेक्षकमा नियुक्ति गर्ने, परीक्षकमा नियुक्ति गर्ने, संपरीक्षकमा नियुक्ति गर्ने, प्रश्न पत्र निर्माण र मोडरेसनमा संलग्न गराउने समेतका कार्यहरु गराउँदै आएको आरोप परीक्षा नियन्त्रक जोशीमाथि लगाइएको छ ।
त्यस्तै, कार्यकाल सकिएपछि पनि घुस खुवाएर पुनः नियुक्ति भएका र कानुन विपरीत मौखिक आदेशका भरमा गैरकानुनी कार्य गर्न आफूले भनेका नमान्ने विषय विज्ञ एवं शिक्षकहरुलाई कालोसूचीमा राख्ने गरेको आरोप उनीमाथि लगाइएको छ ।
साथै, विभिन्न क्याम्पस तथा विद्यार्थीहरुसँग आर्थिक लाभमा परी घुस लिइ प्रश्नपत्र चुहावट गर्ने, परीक्षा केन्द्रहरु सेटिङमा तोक्ने कार्यहरु गरेको र निर्धारित समयमा सञ्चालन गर्नुपर्ने परीक्षा ढिलाइ गर्ने तथा परीक्षाफल २० महिनासम्म पनि प्रकाशित नगर्ने गैरजिम्मेवारी कार्यमा संलग्न भएको भन्दै पौड्यालले उनीविरुद्ध अख्तियारमा उजुरी हालेका हुन् ।



