काठमाडौं । एलओडी क्लव प्रकरणमा ३ जनाविरुद्ध मुद्दा दायर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौले मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
यसरी मुद्दा दायर हुनेमा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई, कर्मचारी सपना ढुंगाना र प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठ रहेका छन् । उनीहरूविरूद्ध बालबालिका विरूद्धको कसूरमा मुद्दा दायर भएको हो।
उनीहरुमध्ये सेढाई र ढुंगाना प्रहरीको हिरासतमा छन् भने श्रेष्ठ फरार रहेका छन् । एलओडी गएकी करिब १६ वर्षकी नाबालिगको ललितपुरको बागडोलमा बलात्कार भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूविरूद्ध जाहेरी दिएको थियो।
ललितपुर प्रहरीले उक्त क्लबका संचालकहरू रूदिपबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिलले घटना भएका बेला क्लबमा उनीहरुको उपस्थिति नदेखिएको भन्दै थुनामुक्त गरिदिएको थियो ।



