images
images

तथ्याङ्कमा काठमाडौँ जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी


  • 1.1K
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    तथ्याङ्कमा काठमाडौँ जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

    काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । 

    देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या ५ हजार ६ सय ५८ जना छ ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर ४ सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ । 

    जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौँमा रहेको छ । काठमाडौँमा प्रतिवर्ग किलोमिटर ५ हजार १ सय ६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको छ । काठमाडौँको जनसङ्ख्या हेर्दा १० लाख ३५ हजार ७ सय २६ जना पुरुष र १० लाख ५ हजार ६ सय ६१ जना महिला रहेका छन् । 

    काठमाडौँमा प्रतिघरधुरी औसत जनसङ्ख्या ३.७५ जना छ । यहाँको जनसङ्ख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या २ लाख २६ हजार ६ सय ६० जना छ । 

    जुन काठमाडौँ जिल्लाको कुल जनसङ्ख्याको ११.१० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या २ लाख १५ हजार १ सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका ९ सय ८० जना रहेका छन् । काठमाडौँ जिल्लामा मात्र ५ लाख ४२ हजार ८ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये ३ लाख ६२ हजार १ सय ४७ परिवारको मूली पुरुष र १ लाख ८२ हजार ७ सय २० परिवारको घरमूली महिला रहेका छन् । 

    काठमाडौंमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या ८ लाख ९८ हजार ३ सय ५२ र विवाहित महिलाको सङ्ख्या ८ लाख ८९ हजार ७ सय १० जना रहेको छ । 

    यहाँ छयालीस हजार ९६ विधवा र ९ हजार ७ सय ५५ विदुर रहेका छन् । १ हजार ३ सय ३८ जना पुरुष र २ हजार ८ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्याङ्कमा उल्लेख छ । 

    यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार ९ सय ५२ जना पुरुष र १ लाख ४४ हजार ३ सय ९५ जना महिला गरी कुल १ लाख ९७ हजार ३ सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । १ लाख ४९ हजार ८ सय ६ जना पुरुष र १ लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।
             
    खाना पकाउनका लागि काठमाडौँका १० हजार २ सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, ५ लाख २६ हजार ९ सय ३१ परिवारले खाना पकाउने ग्यास, ४ हजार ६ सय ९४ परिवारले बिजुली, ५ सय ६१ परिवारले बायो ग्यास, १ सय ५७ परिवारले मट्टितेल र २ सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

    काठमाडौंका ५ सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छ्रैनन् भने १ हजार ३ सय ५ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौँ जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका ३ लाख ४९ हजार २ सय ७४ जना पुरुष र ५ लाख ३ हजार २ सय ८१ जना महिला गरी ८ लाख ५२ हजार ५ सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले उल्लेख गरेको छ । 

    पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये ३ लाख ७६ हजार ९ सय ५४ जना विद्यार्थी, १ लाख ९८ हजार ६ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार १ सय ३ जना वृद्ध तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । 

    ५ लाख १२ हजार ४ सय २७ जना जागिरमा रहेको, ३२ हजार ३ सय ८८ जनाले अरुलाई जागिर दिइरहेको, २ लाख ८२ हजार ५ सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र १ लाख ८ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।
     
    अठार वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या ५ लाख ८ हजार ३ सय ९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको सङ्ख्या ४ लाख २ हजार एक सय ७४, आमासँग मात्रै बस्नेको सङ्ख्या ५५ हजार ३ सय ६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या ७ हजार २ सय, बुबा र सौतेनी आमासँग बस्नेको सङ्ख्या ८ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको सङ्ख्या २ सय २८, अन्य नातेदारसँग बस्नेको सङ्ख्या २८ हजार ३ सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको सङ्ख्या ९सय ७१ जना रहेको छ ।

    काठमाडौँमा २ लाख ५८ हजार १ सय ३८ आवासीय प्रयोजनका, २४ हजार ४ सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, ३ हजार १ सय ७५ वटा सरकारी, ३ हजार १ सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, ३ हजार ८ सय ९२ वटा उद्योग क्षेत्रका, ६ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, ३ हजार २४ वटा होटल तथा लज, ४ हजार २ सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् ।


    images
    images

    Logo