images
images

मेची भन्सारबाट १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन


  • 327
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    मेची भन्सारबाट १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन

    झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ ।

    प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा २० अर्ब २४ करोड १८ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने  लक्ष्य लिइएको थियो ।

    पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व सङ्कलनमा असर परेको रेग्मीको भनाइ थियो । कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको उनले बताए । 

    मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

    आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार रुपैयाँ राजस्व कम सङ्कलन भएको छ । पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ ।


    images
    images

    Logo