काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले विधि र प्रक्रिया निर्धारण गरेको छ ।
आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ ।
छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फारम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ ।
यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ ।




