काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सहित ११ जना विरुद्ध विनियोजित बजेट हिनामिना गरेको आरोप लागेको छ । काम नगरि झुठो प्रतिवेदन पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगालले इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको हो ।
झापा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ का लागि बजेट छुट्याएकोमा अनुगमन नै नगरि गरेको भनी नापी किताबमा चढाई, झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरि २२ लाख रुपैयाँ भुक्तानी गरेको आरोप उनीहरुविरुद्ध लागेको हो ।
नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्र प्रसाद खरेल र कोषाध्यक्ष शान्ता देवी सुव्वा (राई) भन्ने शन्तमाया सुव्वा लिम्बूलाई समेत भ्रष्टाचारको मुद्दा लागेको छ ।
त्यस्तै, उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेको भन्दै गाउँपालिकाका अध्यक्ष जय नारायण साह, अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेकी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी र वडा नं ३ र ७ का तात्कालिन वडाअध्यक्षहरु मोति लाल गणेश तथा हरि बहादुर वानियालाई समेत प्रतिवादी बनाई आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।



