भक्तपुर । भक्तपुरमा तीन वर्षमा २ सय १८ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष १ सय ४४ जना, महिला ६४ जना र १० जना बालबालिका समेत रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चालु आर्थिक वर्ष २०७९/ ८० को ११ महिनामा मात्रै ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा विष खाएर १२ जना, भुण्डिएर ५९ जनाले आत्महत्या गरेका हुन् । यो वर्ष ५१ जना पुरुष, २३ जना महिला र २ जना बालबालिकाले आत्महत्या गरेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९मा भक्तपुर जिल्लामा ८३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिएको छन् । सो वर्ष विष खाएर १८ जना, भुण्डिएर ६२ जना, हाम फालेर २ जना र हातहतियारबाट १ जनाले आत्महत्या गरेका हुन् । उक्त आर्थिक वर्षमा ५५ जना पुरुष, २२ जना महिला र ४ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा देखिन्छ ।
आर्थिक वर्ष २०७७/०७८मा ६४ जनाले आत्महत्या गरेका थिए । जसमा विष खाएर २२ जना, ४२ जनाले झुण्डिएर आत्महत्या गरेको देखिन्छ ।
आत्महत्या रोकथाम कसरी गर्ने
मनोविदहरुका अनुसार आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।
व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो केशमा आत्महत्याआत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ ।
यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ । आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।



