images
images

अखाद्य सामग्री बिक्री गरेपछि महानगरले गर्यो १ लाख ५० हजार जरिवाना


  • 284
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    अखाद्य सामग्री बिक्री गरेपछि महानगरले गर्यो १ लाख ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई  एक लाख ५० हजार जरिवाना तिराएको छ । 

    कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई १ लाख ५० हजार जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।  

    उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ ।    

    कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैङ्क भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ  । 

    तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ । 

    सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई  ५० हजार जरिवाना

    यसैबीच आज नै कामपाले वडा नं ६ बौद्धस्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि ५० हजार जरिवाना तिराएको छ ।

    पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा स्थानमा जथाभावी फोहर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको  छ । सोही अनुसार कामपाले बुढाथोकीलाई जरिवाना तिराएको हो । 

    चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्दै आएको कामपाले पछिल्लो समय बजार व्यवस्थापन गर्नका लागि नियमित रुपमा अनुगमन गरिरहेको छ । कामपाले आगामी वर्षका लागि व्यक्तिगत तथा संस्थागत भान्सालाई स्वास्थ्यकर बनाइराख्न आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । कामपाले समग्र स्वास्थ्यको क्षेत्रका लागि भने करिब ९७ करोड विनियोजन गरेको छ । 


    images
    images

    Logo