काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै राष्ट्रिय सभा वैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आइतबारको राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।
बुधबार, बिहीबार र शुक्रबारको वैठक पनि एमालेका सदस्यहरुको विरोधपछि स्थगित गरिएको थियो ।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए। सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए।
त्यसलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए । वैठकमा बोल्दै न्यौपानेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेकी थिइन् ।
अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाको भूमिका बुझेर सबैजना बसेर नियमित कार्यवाही अघि बढाउन अनुरोध गरेका थिए । तर एमालेले उठेर विरोध गरेपछि असार २५ गते सम्मका लागि वैठक स्थगित गरिएको हो ।



