काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा २ सहकारीको दर्ता खारेज गर्ने भएको छ । महानगरपालिका सहकारी विभागले एक सुचना जारी गर्दै २ सहकारीको दर्ता खारेज गर्ने जानकारी दिएको हो । यसरी खारेज हुनेमा श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेड रहेका छन् ।
महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरुको दर्ता खारेजी गरिएको हो । उक्त ऐनकाअनुसार ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था रहेकाे महानगरले जनाएकाे छ ।
यी दुई संस्थाहरुले विभिन्न समयमा दर्ता खारेजी स्वीकृतिका लागि महानगरका निवेदन दिएका थिए । सोहीअनुसार हाल संस्थाहरु सञ्चालनमा नभएकाले दर्ता खारेजी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
महानगरले यी संस्थाले तिर्नुपर्ने दायित्व उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाहरुबाट धितो राखि कुनै कर्जा लिएको वा यी संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले महानगरको सूचनाको आधार मानि १५ दिनभित्र विभागमा सम्पर्क गर्न सक्नेछन् । महानगरले सूचनामा भनेको छ, ‘अन्यथा खारेजी पश्चात कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने व्यहोरा जानकारी गराइन्छ ।’




