images
images

आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै


  • 397
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै
    काठमाडौं । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ । कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँसको चोयाबाट मसिनो सिन्कामार्फत झाडु बनाउने यन्त्र निर्माण गर्न लागिएको हो । यी सबै प्रविधिको निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने  समझदारी गरेको छ । यी सामग्री बनाउन करिब ५० लाख रुपैयाँ लाग्ने उक्त केन्द्रका प्रमुख दीपक घिमिरेले जानकारी दिए।  
     
    उक्त यन्त्रबाट किसानले फलाएको धान, मकै, गहूँ, कोदोलगायत दाना भएका फसल  छोडाउन सहज हुनाका साथै  कृषक पनि लाभान्वित हुनेछन् । उद्योग मन्त्रालयअन्तर्गत रहेको केन्द्रले  विभिन्न सीपमूलक तथा उद्यमशील तालिम प्रदान गर्दै आएको बताउँदै उनले दाँत कोट्याउने सिन्कासमेत विदेशबाट आयात गरी करोडौँ रुपैयाँ बाहिरिएको अहिलेको अवस्थामा मुलुकमा यस्ता प्रविधिको विकास गरी त्यसको प्रयोगबाट आयात प्रतिस्थापन गर्ने र  स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।  
     
    यसै वर्षभित्र ती यन्त्रको विकास भएपछि युवालाई तालिम प्रदान गरी वस्तु उत्पादनमा सहयोग गर्नाका साथै उक्त केन्द्रले सञ्चालन गरेका  ब्युटिसियन, मोबाइल मर्मत, हाउस वायरिङ, कम्प्युटर हार्डवेयर, प्लम्बिङ, सिलाइ, मोटर रिबाइन्डिङ र बेकरीसम्बन्धी तालिम पनि यथावत छन् । तालिम लिने जनशक्तिले सिकेका कला, कौशल तथा सीपलाई स्वदेश तथा विदेशका श्रम बजारमा उपयोग गरिएको पाइएको छ । कतिपयले देशमै उद्यमी बनेर रोजगार सिर्जना गरी राम्रो आम्दानी पनि गरेको जनाइएको छ । काठमाडौँ उपत्यकाका साथै विभिन्न जिल्लामा पनि केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी तालिमका लागि  अवसर प्रदान गर्दै आएकोे छ । 
     
    केन्द्र प्रमुख घिमिरेका अनुसार गत वर्ष १ हजार २ सय ५लाई यस्तो तालिम उपलब्ध गराइएकामा चालु आर्थिक बर्षमा आठ सय १८ जनालाई तालिम प्रदान गरिएको छ । ब्युटिसियन तालिममा प्रशिक्षार्थीहरू उत्साहित भएको पाइएको छ । त्रिपुरेश्वरमा हाल सञ्चालन भइरहेका तालिममा प्रशिक्षार्थीले राम्रो अवसर प्राप्त भएको भन्दै सिकेको ज्ञानबाट आफूहरू उत्साहित भएको बताएका  । प्रशिक्षक अनिता सुवेदीले बताए । 
     
    महिला सशक्तिकरणका लागि यो तालिम अर्थोपार्जनको भरपर्दो माध्यमसमेत बनेको छ । सिटिइभिटीले निर्माण गरेको पाठ्यक्रमका आधारमा सीप सिकाइने भएकाले यसको मान्यता पनि रहेको छ । सरकारी तथा सामुदायिक विद्यालयमा पनि यसको पाठ्यक्रम विकास भएमा दक्ष जनशक्ति उत्पादन भई स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
     


    images
    images

    Logo