काठमाडौं । चालु आर्थिक बर्षको हालसम्म जिल्लामा चौधवटा जमिनको कित्ताकाट भएको छ । भू– उपयोग नीति २०७९ लागू भएसँगै स्थानीय सरकारले गर्नुपर्ने वर्गिकरणका काम अगाडि बढ्न नसक्दा कित्ताकाटमा कमी आएको हो ।
नापी कार्यालयका सूचना अधिकारी शेरबहादुर बुढाथोकीकाअनुसार चालु आर्थिक वर्षमा जलविद्युत् आयोजनाले प्राप्त गरेका १४ वटा जग्गाको मात्र कित्ताकाट भएको हो । जलविद्युत् आयोजनाले प्राप्त गर्ने जग्गाको हकमा भने कित्ताकाट गर्न सरकारले पुरानै नीतिमा छुट दिइरहेको बताइएको छ ।
कित्ताकाटबाट उक्त कार्यालयले चालु आर्थिक बर्षको हालसम्म कूल १ लाख ७२ हजार ५ सय ५२ रुपैयाँ राजस्व आर्जन गरेको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये कुनैपनि पालिकाले मापदण्ड अनुरूपको वर्गिकरण गर्न नसक्दा कित्ताकाट रोकिएपछि राजस्व असुलीमासमेत बाधा पुगेको छ । उक्त कार्यालयबाट चालु आर्थिक बर्षमा कूल ६ सय ९४ जनाले जग्गाको नक्सा प्रिन्ट लिएका छन् ।
छजना जग्गाधनीले भने आफ्ना प्रमाणका जग्गा नापी अमिनीबाट स्थलगत परीक्षण गराएको नापीका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । नक्सा प्राप्तिको साथै परामर्शसमेत एक वर्षको अवधिमा करिब १ हजार ५ सय सेवाग्राहीले सेवा लिएको बताइएको छ ।
यस्तै मालपोत कार्यालयबाट चालू आर्थिक बर्षको साउनदेखि हालसम्म २५ थान मरूवा नामसारी हुनाको साथै ६ सय ५० लिखत पारित भएको र तीमध्ये ३ सय ३५ थान बैंक तथा वित्तीय संस्थाको घितो बन्धकका लिखत रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए । वर्ष दिनमा समग्रमा २ हजार सेवाग्राहीले सेवा लिएको मालपोत कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको साउनदेखि हालसम्म मालपोतले राजस्व स्वरुप ६२ लाख ८६ हजार ९ सय ८९ रुपैयाँ असुल गरेको त्यहाँका कर्मचारी छेक्याल तामाङले जानकारी दिए । गत आर्थिक वर्षमा भने १ करोड २७ लाख ६१ हजार ८ सय ७१ रुपैयाँ राजस्व असूली भएको अभिलेखमा उल्लेख छ ।



