काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब ७ लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
अघिल्लो आर्थिक वर्षमा झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दो देखिएको जनाएको हो । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको बताइएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै साढे ७ लाख जनाले श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका र चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या ७ लाख ४० हजार पुगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय युरोप जानेको सङ्ख्या पनि बढ्दो रहेको र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् ।
श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले बताए । उनका अनुसार गएको फागुनमा वैदेशिक रोजगारमा ६१ हजार ८ सय ४५ जना गएको देखिन्छ । यसमध्ये युरोप जानेको सङ्ख्या धेरै छ । चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा बाहिरिएका थिए । वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार ४ सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
असार महिना पुनः श्रम स्वीकृति लिएर २१ हजार १७ जना विदेशिएका छन् भने ३३ हजार ४ सय ४० जनाले नयाँ श्रम स्वीकृति लिएर विदेशिएका छन् । विदेशिनेमा ४९ हजार ५ सय ९ पुरुष र ४ हजार ९ सय ४८ महिला छन् । पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ ।
यस्तै सीपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको योजना रहेको छ । आन्तरिक रोजगारी पनि प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी गएको दुई महिनामा नेपालमा काम गर्न झन्डै १ हजार ४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक मणिनाथ गोपले जानकारी दिए । उनका अनुसार गएको वैशाख महिनामा ९ सय ७४ र जेठ महिनामा ४ सय २२ जना गरी दुई महिनाको अवधिमा नेपालमा काम गर्नका लागि १ हजार ३ सय ९६ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै गएको वैशाख र जेठ महिनामा ४ सय ५८ विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका थिए ।



