काठमाडौं । सन् २०२३ को छ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।
बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९ सय १ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो ।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ४४, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मेमा ७७ हजार ७ सय ३ विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार २ सय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।



