भक्तपुर । सूर्यविनायकमा घरेलु तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि ‘घरेलु कृषि तथा पर्यटन मेला २०८०’ हुने भएको छ । भक्तपुरमै उत्पादित परम्परागत र मौलिक उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्न उक्त मेला असार १५ देखि १७ गतेसम्म हुने भएको हो । मेलामा स्टल र अवलोकन निशुल्क रहनेछ ।
सूर्यविनायक नगरपालिकाको आयोजना घरेलु तथा साना उद्योग संघको संयोजन तथा भक्तपुर पर्यटन विकास समितिको प्रबद्र्धनमा हुने उक्त मेलामा ९० वटा स्टलहरु रहने आयोजकले बताएका छन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा दश हजार भन्दा बढि सहभागिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको समग्र आर्थिक विकासको रुपमा रहेको घरेलु तथा साना उद्योग कृषि र पर्यटन क्षेत्रको प्रबद्र्धनसँगै कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोड्ने उद्देश्यका साथ आधुनिक प्रविधि र अनलाइन मार्केटिङगमा उत्पादनक र उपभोक्तासम्म पहुँच पुर्याउने लक्ष्यका साथ मेला आयोजना गरिएको आयोजक बताउँछन् ।
मेलामा सूर्यविनायकका लघु, घरेलु,साना उद्यमी एवं महिला उद्यमीहरुको उत्पादनहरु स्वदेशि औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसायहरु, स्थानीय मौलिक उत्पादनहरु ( जुजु द्यो, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाडाँकुडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्टकलाका उत्पादनहरु, पर्यटन उद्योगका उत्पादनहरु आदिको स्टल रहनेछ । त्यस्तै, मौलिक नेवारी खाजा, समय बजी, यमरी, चटामारी, बारासहितको फुट फेष्टिवल हुने आयोजकले जनाएका छन् ।



