काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।
आर्थिक बर्ष २०७९/८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले १ लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा १ लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको छ । यो समीक्षा अघिल्लो वर्षको तुलनामा ४३ हजार २ सय ७९ कम हो ।
गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव भन्सारको राजस्व सङ्कलनमा समेत परेको बताए ।
चालु आर्थिक बर्षको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ मात्र सङ्कलन गरेको उनले जानकारी दिए। उनले सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र वाहन आयातमा ७० प्रतिशतभन्दा बढी कमी देखिएका कारण राजस्व सङ्कलनको लक्ष्य हासिल हुन नसकिएको बताए ।



