काठमाडौं । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुँदैछ ।
प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नैपर्ने हुन्छ । दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग हारेको अवस्थामा नेपालको सुपर सिक्स यात्रा निश्चित हुनेछ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्यहोर्न पुगेको थियो ।
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।
अब समूह ‘ए’ बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्समध्ये एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बाबेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै तीन खेलपछि नेपालको दुई अङ्क छ भने दुई खेलेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थान र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ ।



