images
images

पूर्वी नेपालको बाढी : तीस आयोजनामा ८ अर्ब बढीको क्षति


  • 443
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    पूर्वी नेपालको बाढी : तीस आयोजनामा ८ अर्ब बढीको क्षति

    काठमाडौं । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

    यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादनमा रहेका १ सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा करिब ६ अर्ब रुपैयाँको क्षति भएको छ ।

    विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ  बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।

    भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड रुपैयाँ बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए ।  

    उनका अनुसार उक्त आयोजनामा हेडवक्र्स, पाइप अलाइनमेन्ट, पावरहाउसलगायतका भौतिक संरचना पूर्णरूपमा क्षति भएर आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।

    त्यस्तै १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनामा रु ९५ करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । बाढीका कारण पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत् आयोजनामा २ अर्ब  रुपैयाँ भन्दा बढीको क्षति भएको छ । निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत् आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ ।

    उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चार जनाको मात्र शव भेटिएको छ । कुल ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्याउँदा आयोजनाको पुनःनिर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए ।

    यस्तै इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए।  इङ्गुवा खोलामा पनि ५० करोड रुपैयाँ  बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए । 

    इप्पानले बाढीले प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन् ।


    images
    images

    Logo