काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब ३ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि जेठसम्म २ लाख ८८ हजार ३ सय ५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।
निकुञ्जमा स्वदेशी १ लाख ९८ हजार ८ सय २६ , सार्क देशका ३५ हजार ८ सय ८६ र अन्य देशका २९ हजार ५ सय ७६ पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबैभन्दा कमले भदौ महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार ६ सय ४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौ महिनामा ८ हजार ८ सय ८० जनाले भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन् ।
निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख ३ हजार ९ सय रुपैयाँ राजस्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा २ करोड ६३ लाख ५० हजार २ सय ५० आम्दानी भएको छ भने सबैभन्दा कम पर्यटक आएको भदौ महिनामा ५१ लाख ३ हजार ३ सय रुपैयाँ आम्दानी भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए ।



