images
images

‘केन्द्रीय कारागारभित्रको अवैध क्रियाकलापको सूचना चुहाएपछि कैदीबन्दी बेपत्ता बनाइयो’


  • 527
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    ‘केन्द्रीय कारागारभित्रको अवैध क्रियाकलापको सूचना चुहाएपछि कैदीबन्दी बेपत्ता बनाइयो’

    काठमाडौं । केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका कैदीबन्दीहरुलाई जेलर र चौकीदारहरुले अमानवीय व्यवहार गर्ने गरेको तथ्य बाहिरिएको छ । कैदी बन्दीहरुका आफ्न्तले पत्रकार सम्मेलन गर्दै उक्त तथ्य बाहिर ल्याएका हुन् । जेलमा अवैध वस्तुहरु खुलमखुल्ला कारोबार हुने गरेको, कारागारभित्र लागूऔषध, चुरोट र मदिराको जबरजस्ती बेचविखन हुने गरेको कैदीबन्दीका आफन्तहरुले बताएका छन् । 

    जेलर ललित बस्नेत र चौकीदार प्रभाकर नरसिंह राणालगायतको सेटिङमा कारागराभित्र अवैध वस्तु लगिने उनीहरुको आरोप छ । जेलभित्रको अवैध धन्दाको सूचना बाहिर ल्याएको आशंकामा जेलर बस्नेत र चौकीदार राणाले कैदीबन्दी नहकूल तामाङ, शेरबहादुर तामाङ र विष्णु पाण्डेसँग पैसा असुली गरेको, कुटपिट गरेको र अर्को जेल सारिएको उनीहरुका आफन्तले बताएका छन् । 

    कैदीबन्दी विष्णु पाण्डेका बाबु नरबहादुर पाण्डेले आफ्नो छोरा सेन्टर जेलमा बसेको ६ वर्ष भएको र अहिलेसम्म छोराले जेलर र नाईकेलाई दिन पटक–पटक घरबाट पैसा मगाएको बताए । आफूले अहिलेसम्म जेलर र नाईकेलाई दिन छोरालाई छ लाख रुपैयाँ पठाएको उनको भनाई छ । अहिले छोराको बारेमा कुनै जानकारी नभएको उनले बताए । आफ्नो छोराको खोजखबरका लागि उनले सबैसमक्ष आग्रह गरे । 

    आफूले जग्गा धितो राखेर र ऋण गरेर ६ लाख पैसा पठाएको उनले बताए । अहिले तीन दिनदेखि छोरालाई जेलमै बेपत्ता पारिएको र छोराको अवस्थाको बारेमा कुनै जानकारी नभएको उनले बताए । उनले जेलभित्र भइरहेको उक्त अमानवीय घटनाको उचित छानविनको मागसमेत गरेका छन् । उनकाअनुसार जेलभित्रको बेथितिविरुद्ध सूचना चुहाएको भन्दै नहकूल तामाङ, शेरबहादुर तामाङ र विष्णु पाण्डे सम्पर्कमा छैनन् । 

    कारागारभित्रको गैरकानुनी धन्दा तथा कालोबजारी नियन्त्रणको माग गर्दै चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर र जेलर ललित बस्नेतविरुद्ध कारागार विभाग कालिकास्थान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृहमन्त्रालयमा समेत उजुरी दर्ता भएको छ ।

    अवैध वस्तुको कारोबारको अलवा कारागारभित्र आन्तरिक सेटिङको आधारमा तरकारी तथा खाद्यान्न पसलले चर्को मुल्य लिई विक्री गर्ने, कैदीबन्दीको रकमको ५० प्रतिशतभन्दा बढी रकम कमिशन लिने, मिटरव्याज उठाउने, पुल हाउस सञ्चालन तथा वेटिङमा गेम खेलाउनेजस्ता अवैध धन्दा पनि हुने गरेको उजुरीमा उल्लेख छ । कैदीबन्दीलाई पैसा व्याजमा लिन उकास्ने र एक सय रुपैयाँ बराबर प्रतिमहिना पाँच रुपैयाँ मिटरब्याज गरेको पनि उजुरीमा उल्लेख छ ।


    images
    images

    Logo