काठमाडौं । नागरिक उड्डायन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालतमा निवेदन दिएका छन् । मेयर शाहले प्राधिकरणलाई विपक्षी बनाएर अदालतमा निवेदन दिएका हुन् ।
त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले असार १ गते स्पष्टीकरण सोधेको थियो । काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेका थिए।
त्यसपछि प्राधिकरणले मेयर शाहसँग स्पष्टीकरण सोधिएको थियो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको थियो। मेयर शाहले प्राधिकरणलाई स्पष्टीकरण भने बुझाएको छैन।
प्राधिकरणका कर्मचारीले तार नकाट्न अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको नगर प्रहरीले बताएको थियो । महानगरले स्पष्टीकरण नदिइ प्राधिकरणले काटेको पत्र बदर हुनु पर्ने माग गर्दै बुधबार उच्च अदालतमा निवेदन दिएको हो ।



