काठमाडौं । बैंक खातामा रकम नभई घोराही सिमेन्टको आईपीओमा आवेदन दिने १२ जनाको नामावली सार्वजनिक भएको छ । सो कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले आवेदन दिने १२ जनाको नाम आज सार्वजनिक भएको हो ।
यसरी फर्जी आवेदन दिनेहरुमा भक्तपुरका प्रेमप्रसाद आचार्य, उज्जवल आचार्य, श्रीजा पोखरेल रहेका छन् । सुनसरीको मिथिलेशकुमार मेहता, दोलखाको नवीन खत्री ललितपुरको अनिल राना, पर्वतको रञ्जना ढकाल पौडेल र काठमाडौंको सुमित्रा बम रहेका छन् ।
त्यस्तै, गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले फर्जी आवेदन दिएको भन्दै कम्पनीले उनीहरुको नामावली सार्वजनिक गरेको छ ।
उनीहरुले ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिएका थिए । कम्पनीले निष्काशन गरेको सो आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको छ । हाल कम्पनीको उक्त आईपीओ निष्काशन प्रकृया स्थगित गरिएको छ ।



