काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले अमेरिकालाई ६ विकेटले पाखा लगाउँदै पहिलो जित निकालेको हो । करण केसीको महत्त्वपूर्ण चार विकेट र भीम सार्कीको संयमित ब्याटिङको सहयोगमा नेपालले अमेरिका बिरूद्व सहज जित निकालेको हो ।
मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा भीमले अविजित ७७ रन बनाए । ११४ बलको सामना गरेका भिमले सात चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । नेपालको जितमा भीमसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ३२ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन जोडे ।
ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन थपे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे । अमेरिकाका सौरभ नेत्रावाल्कर, नोस्थुस केन्जिगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए ।
त्यसअघि करणको उत्कृष्ट बलिङसामु अमेरिकी ब्याटिङ चल्न सकेको थिएन । टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिका ४९ ओभरमा २०७ रनमै समेटेको थियो ।
अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिएका थिए। करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए । करणसँगै नेपालका लागि गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए ।
नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले अविजित शतक प्रहार गरे । ७९ बलको सामना गरेका उनले १० चौका र तीन छक्कासहित १०० रन प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिका पनि प्रतियोगिताको पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।



