काठमाडौं । सन् २०२१ मा नेपालका हिमनदीहरु ८० प्रतिशत पग्लिने प्रक्षेपण एक अध्ययनले गरेको छ । मंगलबार इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड काउन्टेन डेभलपमेन्ट (इसिमोड) ले सार्वजनिक गरेको रिपोर्टमा बढ्दो तापक्रमका कारण २१ औं शताब्दीको अन्त्यसम्ममा हिमनदीहरु पग्लिएर अहिलेको भन्दा ८० प्रतिशतले घट्ने उल्लेख गरेको हो ।
यो अवस्था नेपाल मात्रै नभएर हिन्दकुश पर्वत श्रृंखलामा रहेका हिमनदीहरुमा नै पर्ने इसिमोडले जनाएको छ । त्यस्तै, यो समयमा हिमालमा हिउँ एक चौथाइसम्म घट्न सक्नेछ ।
इसिमोडले पश्चिममा अफ्गानिस्तानदेखि पूर्वमा म्यानमारसम्म १६ लाख वर्ग माइल फैलिएको क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बारे अध्ययन गरेर रिपोर्ट सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले हिन्दुकुश र अन्य हिमाली क्षेत्रका हिमनदीहरु अघिल्लो दशकको तुलनमा २०१० को दशकमा ६५ प्रतिशत छिटो पग्लिएको देखाएको छ । जसले उच्च तापक्रमको असर पहिलेदेखि नै पर्दै आएको देखाउँछ ।
ती क्षेत्रका हिउँ र वरफ चीन, भारत, पाकिस्तान लगायतका १६ वटा देशका १२ नदीमा पानीको मुख्य स्रोत हो । जसलाई २ अर्ब मानिसहरुले आफ्नो दैनिकीका लागि प्रयोग गरिरहेका छन् । हिमनदीहरु तीव्र गतिमा पग्लिँदा नदीको तल्लो भागमा बस्ने तिनै मानिसहरुलाई बाढीको खतरा हुनसक्ने र कालान्तरमा गएर पानीको अभाव समेत हुनसक्ने प्रतिवेदनले देखाएको छ ।
इसिमोडले २०१९ मा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो जसमा औसत औद्योगिक तापक्रम १.५ डिग्रीमा सिमित रहँदा पनि हिमनदी एक तिहाईले गुम्ने बताइएको थियो । तर हालै सार्वजनिक गरिएको प्रतिवेदनले पहिले गरिएको प्रक्षेपणलाई गलत साबित गरेको छ ।
पछिल्लो रिपोर्टमा १.५ देखि २ प्रतिशत सम्म तापक्रम बढ्दा विश्वको उच्च स्थानमा रहेको हिमाली क्षेत्रमा सन् २१०० सम्ममा ३० देखि ५० प्रतिशत सम्मले हिमनदी मासिने देखाइएको छ ।
विश्वको तापक्रम ३ डिग्री सेल्सियसले बढ्दा नेपालका र भुटानका पूर्वी हिमाली क्षेत्रमा रहेका हिमनदीहरुले ७५ प्रतिशत बरफ गुमाउने प्रतिवेदनले देखाएको छ । र यदि त्यसभन्दा एक डिग्री मात्रै बढ्यो भने ८० प्रतिशतसम्म पग्लिने प्रतिवेदनमा छ ।



