काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा रहेका १८ जनामध्ये २ जनालाई धरौटीमा छोडी बाँकी १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सो आदेश दिएको हो ।
अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको । पूर्वमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतका १६ जनालाई भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पुर्पक्षमा जेल चलान भएकाहरु अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन् ।
पूर्पक्षका लागि थुनामा जानेहरुमा केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन रहेका छन् ।
उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो ।
शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उक्त घटनामा अझै १२ जना फरार छन् ।



