images
images

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए


  • 361
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

    काठमाडाैं । काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । 

    काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

    काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । 

    महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए  ।

    उनका अनुसार महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् । “माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ र काउण्टरको व्यवस्था गरिएको छ”, प्रहरी प्रमुख पाण्डेले भने ।

    नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ ।

    लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जीप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माणको काम भइरहेको बताए ।  काठमाडौं महानगरपालिको निर्णयले सार्वजनिक यातायात सञ्चालन थप व्यवस्थित र भरपर्दो हुने उनको भनाइ थियो ।

    माइक्रोबस तथा जीप समन्वय समितिका संयोजक राजेन्द्र आचार्यले नयाँ बसपार्कभित्रबाट सार्वजनिक यातायात सञ्चालन गर्न समिति लागिरहेको बताए । “ काठमाडौं महानगरपालिले आजदेखि लागू हुने गरी लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनमा लागेका छौँ”, उनले भने ।

    यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।

    नयाँ बसपार्कबाट सार्वजनिक यातायात सञ्चालनमा भएसँगै यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयका लागि ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न संयोजक आचार्यले महानगरसँग आग्रह गरे ।

    काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै  पार्किङका लागि काठमाडौं महानगरपालिकाले २०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । १ सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।


    images
    images

    Logo