images
images

सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी


  • 254
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी

    काठमाडौं । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे २ खर्बले बढी देखिएको हो । यो अवधिमा १० खर्ब ४७ अर्ब रुपैयाँ बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अनुदान प्राप्ति भने ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबर मात्रै छ ।
         
    महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८.४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।
         
    वैशाख मसान्तसम्ममा चालु खर्च ६६.४९, पुँजीगत खर्च ३३.०४ र वित्तीय व्यवस्थातर्फको खर्च ५८.७९ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकामा हालसम्म ७ खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको विकास बजेट चालु आर्थिक वर्षका लागि छुट्याइएकामा १० महिनामा १ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।
         
    यस अवधिमा भएको बजेट खर्चको अवस्था हेर्दा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च धेरै छ । वैशाख मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ३३ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हुने खर्च मुख्यगरी सरकारी ऋणको साँवा ब्याजलगायतमा खर्च हुने गरेको छ ।
         
    वैशाख मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५४.६६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख रुपैयाँ बराबर मात्रै असुल गरेको हो ।

    त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रुपैयाँ बराबर मात्रै अनुदान आएको छ । गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) घटेको छ भने अन्तःशुल्क असुली बढेको छ । 

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ बराबर आयकर सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ बराबर आयकर सङ्कलन भएको थियो । त्यस्तै गत वर्षको तुलनामा भ्याट पनि न्यून उठेको छ । गत वर्ष वैशाख मसान्तसम्ममा ९० अर्ब ६८ करोड रुपैयाँ भ्याट उठेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ६७ लाख रुपैयाँ बराबर असुली भएको छ ।
         
    गत वर्षको तुलनामा अन्तःशुल्क भने केही बढेको छ । वैशाख मसान्तसम्ममा ८४ अर्ब ११ करोड रुपैयाँ बराबर अन्तःशुल्क असुली भएको छ । गत वर्षको सोही अवधिमा अन्तःशुल्क  ८३ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो ।


    images
    images

    Logo