images
images

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान


  • 178
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान

    काठमाडौं । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । 

    वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा २ करोड ७१ लाख ९५ हजार ५ सय ९१ रुपैयाँ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।

    वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिए । 

    व्यास नगरपालिकाका २३ जनालाई ३० लाख ७० हजार रुपैयाँ, भानु नगरपालिकाका ५ जनालाई २१ लाख २५ हजार रुपैयाँ, शुक्लागण्डकी नगरपालिकाका ४ जनालाई ५२ लाख २० हजार रुपैयाँ, म्याग्दे गाउँपालिकाका ५ जनालाई ४७ लाख ७५ हजार रुपैयाँ, भिमाद नगरपालिकाका ४ जनालाई ९१ लाख ६० हजार ५ सय ९१ रुपैयाँ, बन्दीपुर गाउँपालिकाका ३ जनालाई २२ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति रकम प्रदान गरिएको छ । 

    देवघाट गाउँपालिकाका चार जनालाई ३ लाख ८० हजार रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई १ लाख ४० हजार रुपैयाँ, घिरिङ गाउँपालिकाका एक जनालाई १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ । 

    जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगीका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका ९ र अन्य नौ रहेका छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगीका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगीका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् । 

    म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगीका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् । भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगीका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगीका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् । 

    घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगीका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगीका रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए । “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहलगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सक्यौँ”, रानाले भने । 

    सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताए । उनले भने, “सामी कार्यक्रमको प्रभावकारिता बढ्दो छ, यसलाई थप विस्तार गर्न आवश्यक छ ।”

    वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन २०७६ साल मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । 

    सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकालाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ । 

    नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिए । 

    सीप तालिम बिना वैदेशिक रोजगारीमा जाने बढी रहेकाले अझै पनि चुनौती रहेको मिश्र बताए । उनले भने, “ठगीको व्यापकता, म्यानपावर कम्पनीको ठगीमा न्यूनीकरण तथा व्यक्तिगत ठगी तथा कन्सलटे«न्सीमार्फत हुने ठगी रोकिएको छैन ।”

     


    images
    images

    Logo