images
images

नौ महिनामा ६ लाखले लिए श्रम स्वीकृति


  • 418
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    नौ महिनामा ६ लाखले लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता ५ लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार ४ सय ८९ महिला गरी कुल ६ लाख २ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो । 

    प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मङ्सिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४, फागुनमा ६१ हजार ८ सय ४५ र चैत महिनामा ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । 

    सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या  ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म ३ लाख ८७ हजार ८ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र २ लाख १७ हजार ९ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् । 

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आर्थिक बर्षको नौ महिनामा ९ खर्ब ३ अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । 

     


    images
    images

    Logo