काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले १५ दिनमा ५५ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरूले असार ४ गतेदेखि १८ गतेसम्म सो निक्षेप संकलन गरेका हुन् । असार ३ गतेसम्म ३९ खर्ब ९१ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप संकलन असार १८ गतेसम्मको १५ दिनको अवधिमा बढेर ४० खर्ब ४६ अर्ब पुगेको छ ।
हाल वाणिज्य बैंकहरूले दैनिक ३ अर्ब ६६ करोडका दरले निक्षेप संकलन गरिरहेको नेपाल बैकर्स संघले जानकारी दिएको छ ।
त्यसरी नै बैंकहरू यो १५ दिनमा २२ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकहरूले हाल दैनिक डेढ अर्बका दरले कर्जा प्रवाह भइरहेको छ । कोरोना महामारी कै बीच बैंकहरूले यो लगानी बढाएका हुन् ।
निषेधाज्ञा सहज भएँंगै सरकारी खर्च पनि बढ्न थालेपछि बैंकहरूमा निक्षेप थपिन थालेको छ । बैंकरहरूले पनि निक्षेप तथा कर्जाको सन्तुलन कायम गर्नका लागि सरकारी खर्च समयमा नै हुनुपर्ने जिकिर गर्दै आएका थिए । तरपनि सरकारले समयमा खर्च नगर्ने तथा आर्थिक वर्षको अन्तिम महिनामा एकै पटक खर्चगर्ने परम्परा कायमै रहेकाले पनि असारमा निक्षेप उच्च दरमा थपिएको हो । असार महिनाको आगामी सातामा पनि अझै उच्च दरमा निक्षेप थपिने देखिन्छ ।



