काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । सीओमीले सोमबार नेपाली बजारमा रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी स्मार्टफोन भित्र्याएको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो यहि मूल दर्शनलाई झल्काउँछ ।”
रेड्मी नोट १२ मा १२० हर्ज रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले छ । क्यामेराको कुरा गर्ने हो भने फोनमा तीन ओटा क्यामेरा छन्, जसमा ४८ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहेका छन् ।
सेल्फी पारखीका लागि १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको छ । ४, ६ र ८ जीबी र्याम भेरियन्टमा रहेको यो फोनमा १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । नेपालमा ४ जीबी र्याम, १२८ जीबी इन्टर्नल स्टोरेज भएको रेड्मी नोट १२ को मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै रेड्मी नोट १२ काे बजार मूल्य ६ जीबी र्याम, १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको २४ हजार ९ सय ९९ र ८ जीबी र्याम १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले रेड्मी नोट १२ प्रो ५ जी को बजार मूल्य ६ जीबी र्याम, १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेलको मूल्य ३८ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी र्याम, २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।



