काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । साओमी नेपालले हालै थर्टिन सिरिजको नयाँ मोडेल नेपाली बजारमा भित्र्याएको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “ शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाएको हो । हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।”
८ जीबी र्याम भएको यो फोन नेपाली बजारमा दुई स्टोरेज भेरियन्टमा पाउन सकिन्छस् १२८ जीबी र २५६ जीबी । १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ५४ हजार ९ सय ९९ रुपैयाँ र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
लाइट ब्लु र लाइट पिंक कलरमा उपलब्ध फोन नबिल बैंकको क्रेडिट कार्ड भएका प्रयोगकर्ताले शून्य प्रतिशत ब्याजदरको किस्तामा खरिद गर्नसक्ने बताइएको छ ।
यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.५५ इन्चको एमोलेड डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
साथै फोनमा ८ मेगापिक्सेलको सेकेन्डरी फ्रन्ट क्यामेरा र डुअल फ्रन्ट एलईडी लेन्स पनि छ । फोनमा स्न्यापड्रागन ७ जेन १ चिपसेट प्रयोग गरिएको छ । फोनमा ६७ वाटको टर्बो चार्जरसहित ४५ सय एमएएचको ब्याट्री दिइएको छ ।



