images
images

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज


  • 402
    SHARES
  • २०७९ फाल्गुण २९ गते सोमबार

    पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

    पर्वत । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनीबजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न लागिएको हो ।

    कालीगण्डकीले कटान गर्न थालेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित छ । पक्की पुल नहुँदा बगरफाँटवासीको दिनचर्या कष्टकर बनेको छ । उनीहरुको दैनिकी सहज पार्न पुल निर्माण गर्न थालिएको जलजलाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । पुल निर्माण भएपछि स्थानीयवासीलाई हिँडडुल र कृषिउपज बेनीबजारमा पु¥याउन सहज हुने छ ।

    यहाँ बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँको ठेक्का सम्झौता गरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । निर्माण कम्पनीले कालीगण्डकी किनारमा पुलको जग खन्ने काम थालेको छ । झण्डै ५४ मिटर लामो बेलिब्रिज राख्न  पर्खालसहित जाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने छ । तीन महिनामै काम सम्पन्न गर्ने लक्ष्य छ । 

    पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटबासी आन्दोलन गर्दै आएका थिए । यहाँ पक्की मोटरेवल पुल निर्माणका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । करिब तीन सय परिवारको बसोबास रहेको बगरफाँटमा दैनिक उपभोग्य वस्तु भरियालाई बोकाएर लैजाने गरिएको छ । यसरी लैजाँदा सामानको मूल्य महँगो पर्छ । 

    बगरफाँटका बासिन्दाले म्याग्दी आवतजावत गर्दैआएको कालीपुल जोड्ने झोलुङ्गे पुलको लठ्ठा पनि खिया लागेको अवस्थामा छ । पुल बन्ने खबरले जलजलावासी उत्साहित छन् । बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजला–१ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ । 


    images
    images

    Logo