काठमाडौं । माघ महिनामा १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वसनिक गरेको विवरण अनुसार १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।
माघ महिनासम्ममा ६ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गत महिनासम्म यस्तो रकम ५ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो २७.१ प्रतिशत बढी हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
शोधनान्तर स्थिति
आर्थिक वर्षको माग महिनासम्ममा .१ खर्ब ३३ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।
सो अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई ५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २९ करोड रहेको थियो ।
७.७८ प्रतिशतले बढ्यो महंगी
माघ महिनामा उपभोक्त मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो । माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत
रहेको छ ।
काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
१० प्रतिशतले बढ्यो तलब
माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ ।



